हिन्दूहरूको एउटा महत्त्वपूर्ण चाड होली प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमामा पर्छ । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होलीको दिन मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर एकअर्कालाई रङ्गीन बनाउँछन् । यसर्थ होलीलाई रङहरूको पर्व पनि भनिन्छ ।
होलीको एक दिनअघि राती होलिका दहन गरिन्छ । राती होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि छ्याप्ने चलन छ । बच्चादेखि वृद्धवृद्धासम्म सबै होलीमा रमाउने गर्छन् । युवा-युवतीहरू गीत गाउँदै नाच्दै होली खेल्छन् ।
फागुन महिनामा मनाउने हुँदा यसलाई फगुआ पनि भनिन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर (विशेष रूपले सजाइएको लिङ्गो) गाडेपछि होली सुरु भएको मानिन्छ । फागु पूर्रणिमाको रात उक्त चीरलाई ढालेर जलाएपछि फागु समाप्त भएको मानिन्छ ।
पौराणिक भनाइअनुसार प्राचीन समयमा नास्तिक हिरण्यकसिपु नामक राक्षसले भगवान् विष्णुभक्त आफ्नै छोरा प्रह्लादलाई मार्न छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशअनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् । प्रह्लादलाई केही भएन । होलिका दहनको खुसियाली मनाउन आपसमा रङ र अबीर दलेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।
अर्को एक प्रसङ्गका अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजबासीहरूले जलाएर आपसमा रङ र अबीर दली खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधि चीरदाह गरी होली खेल्ने परम्परा चलेको हो ।
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व भएको इतिहासकारहरू बताउँछन् । यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्ता प्राचीन हस्तलिखित र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ ।
भक्तपुरमा चीर स्वायगू अर्थात् लिंग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ । जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भीमसेन मन्दिरमा राखिएको लिंग अर्थात् लगलाई टोलटोलमा पसलैपिच्छे घुमाएर पूजा गरी पुन: मन्दिरको पाटीमा राखिने परम्परा छ ।
काठबाट बनेको दुई हात लामो लिंगको करिब ३० इन्च मोटाइ हुन्छ । यसलाई भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनीका रूपमा लिने गरिन्छ । घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्ष गरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ । चीर स्वायगू अर्थात लिंग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्छन् ।
फागुन शुक्ल पूर्णिमाका दिन रङ होली खेलेपछि उक्त दिन साँझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गुलाबको फूल, अत्तर र अमुखसहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ । त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अबीरको डल्लाले छरी साँझपछि दत्तात्रय मन्दिर पुर्याउने प्रचलन रही आएको छ ।
लिंग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास रहेकाले लिंग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको छ । लिंग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ ।
तराईमा भने पूर्णिमाको अर्को दिन होली मनाइने गरिन्छ।
नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नास गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ । लोकहितका लागि बिषपान गरेर महादेव नीलकण्ठका रूपमा कहलिए । पहेँलो रङ विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ हो । गणेशजी हरेक रङ मनपराउँथे । रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताहरूले रातो रङको पहिरन लगाएका हुन् भन्ने मान्यता छ ।
अन्य चाडपर्व जस्तै होलिको पनि आफ्नै विशेषता छ । हरेक मुलुकमा आआफ्नै तरिकाले होली पर्व मनाइन्छ । नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चीर गाडेपछि होली पर्व सुरु भएको मानिन्छ । यसरी सुरु भएको होली पर्व पूर्णिमाका दिन चीरलाई ढालेर जलाए पछि होली सम्पन्न हुन्छ ।
इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनिसिया, थाइल्याण्ड आदि देशमा पनि आआफ्नै प्रकारले यो पर्व मनाइन्छ । होलीलाई असत्यमाथि सत्यको जीतको प्रतीकका रूपमा लिइन्छ ।
मौलिक संस्कृतिका रूपमा मनाइँदै आएका हाम्रा चाडपर्वमा पश्चिमेली प्रभावका कारण त्यसको मूल मर्म नै हराउँदै गएको छ । सोहीअनुरूप होलीमा पनि विभिन्न किसिमका विकृति भित्रिएका छन्, जसको नियन्त्रणका लागि प्रयास जारी रहे पनि त्यति प्रभावकारी देखिएको छैन ।
अबीर र रङसँग खेलिने यो पर्व अहिले अपरिचित व्यक्तिहरूलाई बेलुन र प्लास्टिकमा फोहोर पानी भरेर हिर्काई रमिता हेर्ने पर्वका रूपमा विकसित हुँदै छ, जुन असल होइन ।
विशेषगरी युवतीहरू यसबाट नराम्रोसँग प्रभावित छन् । यस मामिलामा कतिपय पुरुष निकै अभद्र व्यवहार प्रदर्शन गर्नसम्म चुक्दैनन् । कयौँ टोल र सडकमा त कलेजबाट फर्किएका युवतीहरू समेत हातमा लोला लिएर हिँडेका भेटिन्छन्, जसले प्रतिकारको संकेत गर्छ । खुसी र हर्षको नाममा खेलिने होली आज कुरूपतामा परिणत भएको छ । हरेक गल्ली-गल्ली र सडकपेटीहरूमा होलीको दृश्य नमीठो मानेर भए पनि सहनु र देख्नुपरेको छ । त्यसबाहेक विद्यालय, क्याम्पस, विश्वविद्यालय आदि क्षेत्रमा पनि होलीलाई रिस पोख्ने र रमिता हेर्ने मौकाका रूपमा लिइने गरेको पाइन्छ । समारोह र अस्पताल जान हिँडेका युवतीहरू समेत होलीको लोलाले नराम्रोसँग प्रभावित भइरहेका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५