सन फ्रान्सिस्को ः पेरूका पूर्वराष्ट्रपति अलेजान्द्रो तोलेदोलाई क्यालिफोर्नियामा सार्वजनिक रूपमा मदिरा पिएको आरोपमा आइतबार गिरफ्तार गरिएको अमेरिकी प्रहरीले बताएको छ ।
आइतबार पक्राउ परेका तोलेदोलाई एक रात हिरासतमा राखी सोमबार बिहानै रिहा गरिएको थियो ।
सत्तामा रहेका समय पदीय दायित्वको दुरूपयोग गरी ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो भनिएको भ्रष्टाचार गरेको आरोप पूर्वराष्ट्रपतिमाथि लागेपछि उनी सन फ्रान्सिस्कोमा बसोबास गर्दै आएका थिए ।
सन मेटियो काउन्टीको सेरिफ कार्यालयका प्रवक्ता रोजमेरी ब्लैंक्सवेडले तोलेदोको पक्राउबारे सोमबार भने, ‘७२ वर्षीय तोलेदालाई आइतबार राती मेनलो पार्क सहरको सान फ्रान्सिस्कोको सामुद्रिक क्षेत्रमा रहेको १ रेष्टुरेन्टबाट गिरफ्तार गरिएको थियो ।’ ‘उहाँलाई कुनै आरोपमा मुद्दा नचलाई सोमबार बिहानै छोडिएको छ ।’
तोलेदोले सन् २००१ देखि सन् २००६ सम्म राष्ट्रपतिका रूपमा काम गरेका पूर्वराष्ट्रपति कार्यकाल पूरा गरेपछि स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने शिलशिलामा क्यालिफोर्निया बस्दै आएका छन् ।
पेरूमा पूर्वराष्ट्रपतिलाई गिरफ्तारीका लागि ३० हजार अमेरिकी डलरको पुरस्कार घोषित गरिएको छ ।
पूर्वराष्ट्रपति तोलेदोविरुद्ध राष्ट्रपतिका रूपमा रहेका समय ब्राजिलको निर्माण कम्पनी ओडेब्रेच्टसँग २ करोड डलर घुस लिएको आरोप छ । यद्यपि उनले भ्रष्टाचार आरोपको खण्डन गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५