काठमाडौं : नेपाली कांग्रेसले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपालाई वार्ताबाटै विश्वासमा ल्याउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकपछि मंगलबार केन्द्रीय कार्यालयमा प्रवक्ता विश्वप्रकाश शर्माले बैठकको निर्णय सुनाउँदै यस्तो आग्रह गरेका हुन् ।
‘सरकारलाई निषेध र प्रतिबन्धको बाटोबाट होइन, संवाद र सहमतिको बाटोबाट विप्लव समूहलाई विश्वासमा ल्याउन आग्रह गर्दछौँ’, प्रवक्ता शर्माले भने । कांग्रेसले विप्लव समूहलाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर आफ्नैसमेत लगानी रहेको संघीयता, गणतन्त्र र समुन्नतिको मार्गमा सहभागी हुन पनि आग्रह गरेको छ ।
अनुशासन समितिलाई पूर्णता
कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिएको छ । बाँकी सदस्यमा उमाकान्त चौधरी र धनराज गुरुङलाई आयोगमा थपिएको छ । सोमबार भीष्मराज आङ्देम्बे संयोजक रहनेगरी किशोरसिंह राठोर र देवेन्द्रराज कँडेल सदस्य बनाइएका थिए ।
निर्वाचन समिति संयोजकमा अधिकारी
कांग्रेसले राष्ट्रियसभा सदस्य रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र टेकराज पौडेल सदस्य छन् ।
पार्टी नियमावली मस्यौदा समिति बन्यो
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति पनि गठन भएको छ । समितिमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्य छन् ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५