निकै ठूलो ‘कसरत’पछि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (अहिले– नेपाल प्रज्ञाप्रतिष्ठान)मा पदाधिकारी नियुक्तिको कार्य सम्पन्न भएको छ । एकातिर भर्खरै एकता हुँदै गरेको नेपाल कम्युनिष्ट पार्टीको झन्डै दुई तिहाईको सरकार, त्यसमा पनि दुई प्रमुख कम्युनिष्ट घटक सम्मिलित । एउटा जनयुद्धबाट आएको दल, अर्को अढाई दशकदेखि सत्ता स्वादमा रमाइरहेको दल । दुईबीचको एकता ‘ए कता ?’ हुन नदिन पनि उनीहरूलाई हरेकजसो नियुक्ति, मनोनयनमा दुवै पक्षको चित्त बुझाइदिनुपर्ने बाध्यता छ– घोषित, अघोषित रूपमा । यही बाध्यताका कारण पनि धेरै निकायमा हुनुपर्ने महत्त्वपूर्ण नियुक्तिहरूमा ढिलाइ भयो ।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास र प्रवद्र्धन गर्नका लागि भनेर तात्कालीन राजा महेन्द्रले स्थापना गरेको नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा विगतदेखि हालसम्म नै राजनीतिक नियुक्ति हुँदै आएको हो । राजाको समयमा राजा वा दरबारबाट दरबार वा राजा निकटका वा आसेपासे, चाकडीबाजहरूलाई प्रतिष्ठानमा नियुक्त गरेर ‘निगाह बक्स’ हुने गर्थ्यो भने पंचायतको अन्त्यपछि जुन राजनीतिक दल सत्तामा छ, त्यही दलका आसेपासे कार्यकर्ता तहका तथाकथित ‘प्राज्ञिक’, ‘बौद्धिक’हरूलाई केही वर्ष जागिर खुवाउने अखडाका रूपमा प्रज्ञाप्रतिष्ठानलाई प्रयोग गरिँदै आएको छ ।
प्रज्ञा भएको व्यक्तिलाई उचित जिम्मेवारी दिएर प्राज्ञिक कर्म गराउनका लागि हुनुपर्ने यस्ता प्रज्ञाप्रतिष्ठानमा राजनीतिक नियुक्तिको परिणाम यस्ता प्रतिष्ठानले आफ्नो स्तर कायम गर्न सकेका छैनन् । विद्यालय, विश्वविद्यालयका पाठ्य सामग्री लेखेर पनि प्राज्ञ बनेका छन् भने केही थान सिकारु बालबालिकाले लेख्ने स्तरका रचना लेखेर पनि प्राज्ञ भएकै छन् । आखिर राजनीतिमा यी सबै संभव भएकै छन् ।
भर्खरै दोस्रो पटक प्राज्ञ सभामा पर्न सफल एक व्यक्तित्वसँग भेट भयो । सन्दर्भ नकोट्टियोस् भन्दा पनि अचानक कु्रा उठिहाल्यो । किनभने प्रज्ञाप्रतिष्ठानबारे जति बोले पनि यसमा राजनीतिक हस्तक्षेप रहुन्जेल बोल्नु/लेख्नु वा चर्चा गरिरहनु अर्थ छैन । यद्यपि, भाषा, साहित्य, कला र संस्कृतिको प्रेमले नै होला, थोरै कुरा गरिहालियो ।
उहाँलाई पुनः ‘प्राज्ञ’ भएकामा बधाई दिएँ ।
उहाँ मुसुक्क मुस्काउनुभयो । वास्तवमा उहाँको मुस्कान मलाई मनपर्छ– निकै शालीन लाग्छ मुस्कान ।
तर केही भनिरह्यो उहाँको मुस्कानले ।
अन्तर्मुखी स्वभावका उहाँ राम्रो कविमा पर्नुहुन्छ– समकालीन कविहरूमा । बोल्न भन्दा लेख्नमा रुचि राख्नुहुन्छ ज्यादा ।
सँगै एक पुराना पत्रकार पनि हुनुहुन्थ्यो । तर उहाँलाई हाम्रा गफप्रति कुनै चासो थिएन यद्यपि, हाम्रा गफ नसुनी सुख पनि थिएन ।
अचानक थपिदिएँ मैले– ‘ठीक हो दाजु, अब केही समय विद्यालय र विश्वविद्यालयका कोर्सका किताब लेख्नुस्, अर्को पटक पक्का प्राज्ञ परिषद्मा ।’
मैले पुनः चलाएँ प्राज्ञलाई– ‘दाजुका नाममा त टिपेक्स लाग्यो रे त ?’
उहाँले नमीठो अनुहार पार्नुभयो । मैले बुझिहालेँ उहाँले नभने पनि उहाँले भन्न खोजेको– ‘टिपेक्स होइन भाइ, इरेजर नै लगाइदिए ।’
तर व्यक्त रूपमा चाहिँ उहाँले भन्नुभयो– ‘मेरो योग्यता पुगेको थिएनछ ।’
अचानक थपिदिएँ मैले– ‘ठीक हो दाजु, अब केही समय विद्यालय र विश्वविद्यालयका कोर्सका किताब लेख्नुस्, अर्को पटक पक्का प्राज्ञ परिषद्मा ।’
कुरो यसै लम्बियो ।
अलिक सानो स्वरमा निकै तौलेर मात्र बोल्ने बानी छ उहाँको ।
‘नेताजीहरूको चाकडी गर्न सकिएनछ’, फेरि खिस्स हाँसेझैँ गर्दै भन्नुभयो, ‘नभए सिधा प्रधानमन्त्रीज्यूबाटै सिफारिस आउनेरहेछ ।’
‘अनि त्यति योग्यता त बनाउनुपर्यो नि दाजु राजनीतिक नियुक्ति खान’, मैले भनिहालेँ ।
‘त्यही त सकिनँ’, उहाँको ग्लानि यसरी पोखियो, ‘तर दुःख छैन, आफ्नै साथी आएका छन् ।’
कुराकानीकै क्रममा रमाइलो प्रसंग आयो । खुब मजा लाग्यो सुन्दा पनि ।
टिपेक्सबाट आउनुभएका प्राज्ञज्यूले रमाइलो गर्नुभएछ, पहिलो प्राज्ञसभामा ।
जिम्मेवारी बाँडफाँडका लागि छलफल रहेछ । ‘टिपेक्स प्राज्ञ’ले ‘हल्का’ दिनुभए ‘मलाई प्रधानमन्त्रीज्यूले ... विभाग लिनु भन्नुभएको छ ।’
सन्नाटा छाएछ एकछिन् । कुलपति, जो आठराईको तमोरको पानी खाएर हुर्किनुभएको हो, उहाँ त्यति लाटो हुनुहुन्छ भन्ने ठान्नु नै भूल भयो सायद । त्यसमाथि ‘प्रधानमन्त्रीको दुहाई दिने?’ भन्ने पनि लाग्यो होला, ‘टिपेक्स प्राज्ञ’लाई कुनै सामान्य विभागमा लगेर राखिदिनुभएछ ।
‘त्यति मात्र होइन, अर्का एक जना सिनियर स्रष्टा पनि पर्नुभएको छ टिपेक्समा’, उहाँले भन्नुभयो ।
उहाँको सन्दर्भ कोटिइँदै थियो । छेउमै रहेका पत्रकार दाजुको अनुहार दिक्कलाग्दो देखियो । उहाँको अनुहारले ‘छिछि विद्वान्का नाममा कलंक’ भनेजस्तो लाग्यो ।
‘होस्, छाडिदिऊँ यस्ता गफ । आफन्तका कुरा काट्नुहुन्न’, भन्दै बिट मारेँ कुराको ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५