काठमाडौं : एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले १० लाख पुरस्कार पाउने भएको छ ।
आगामी वैशाख ७ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको उपविजेताले ५ लाख पाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रालिका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए । त्यस्तै प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन र धनगढी बन्डर वुमनले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै ४ टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवाको मार्की खेलाडी रुबिना क्षत्री, विराटनगरकी करुणा भण्डारी, धनगढीकी सीता रानामगर र काठमाडौंकी मार्की खेलाडी नेरी थापा रहेकी छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५