काठमाडौं : नयाँवर्षको सुरुआतसँगै विराटनगरको बैजनथपुर क्रिकेट मैदानमा एनसीएल महिला टि–२० क्रिकेट लिग हुने भएको छ । सो प्रतियोगिताका लागि चार वटा टिमले सहभागिता जनाउने भएका छन् ।
२०७६ वैशाख ७ देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने टिममध्ये एउटा अभिनेतृ रेखा थापाको टिम पनि परेको छ । रेखाले टि–२० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन् ।
काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले वर्षौंदेखि महिलाको क्षेत्रमा काम गरेको र महिला क्रिकेटमा पनि योदगान दिन टिम किनेको जानकारी दिइन् । आयोजकले आफूलाई प्रस्ताव गरको र महिला क्रिकेटमा योगदान पुग्ने देखेपछि उक्त प्रस्ताव स्वीकार गरेको बताइन् ।
लिगमा सहभागी हुने टिम, टिम धनी र खेलाडी घोषणा गरिएको छ । काठमाडौं सुपर च्याम्पियन्स, विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स र धनगढी वन्डरवुमेन गरी चार टिमले लिगमा प्रतिस्पर्धा गर्ने छन् । काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडी हुन् । यस्तै, विराटनगर रोअरिङका मालिक अनुप सक्सेना हुन भने मार्की खेलाडीमा करुणा भण्डारी छनोट भइन् ।
त्यस्तै, भैरहवा क्विन्सको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदीले लिएका छन् । भैरहवामा राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री मार्की खेलाडी बनेकी छिन् । धनगढी वन्डरवुमेन भने हरि खनालले किनेका छन् भने सीता रानामगर उक्त टिमकी मर्की खेलाडी छिन् ।
प्रतियोगिताका लागि अब खेलाडी भित्राउन अक्सन हुने छ । अक्सनको मिति चाँडै घोषणा गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५