काठमाडौं : रामेछापकी नारानी (परिवर्तित नाम)का दुई छोराहरू गाउँमै पढ्दै छन् । नारानी केही वर्षदेखि राजधानी काठमाडौंमा छन् । उनलाई प्रायः नयाँ बसपार्कतिर भेटिन्छ । उनी अनेक पुरुषसँग ‘डिल’ गरिरहेकी हुन्छिन् । उनको उक्त ‘डिल’ जीवन निर्वाहका लागि हो, उनकै शब्दमा ।
दाङकी रेमा (परिवर्तित नाम) भने देशका विभिन्न ठूला शहरतिर जाने गर्छिन् । पोखरा, बुटवल, काठमाडौं र वीरगंजतिर आउने जाने गरिरहन्छिन् उनी । उनलाई यस्ता विभिन्न स्थानबाट ‘बोलावट’ हुन्छ । उनको पनि ‘जीवन निर्वाह’को बाध्यता हो यसरी ‘बोलावट’ भएका ठाउँमा जानु ।
यी दुई प्रतिनिधि पात्र हुन् हाम्रो समाजका । विशेषगरी शहरी समाजमा देह व्यापार कतिपय महिला/युवतीको जीवन निर्वाहको ‘बाध्यता’ बनिरहेको छ । शहरका भीडभाड हुने विभिन्न चोक, गल्लीहरूमा यस्ता ‘पेसेवर’ महिलाहरू भेटिने गर्छन्, प्रायः साँझतिर । कतिपय यस्ता युवती/महिला शहर घुम्न आनउने बहानामा यतै हराएका छन् भने कतिपय पारिवारिक/आर्थिक कारणले यौन पेसा गर्न बाध्य छन् ।
यौनकर्मी हुनुको आफ्नै बाध्यता छ उनीहरूको । नारानीका श्रीमान्ले विदेश जान्छु भनेर घरबाट ऋण लिएर विदेश उडे । श्रीमान् विदेश गएको दुई वर्ष बढी भयो । कुनै सम्पर्क छैन । उनले सुनेकी छन्, काठमाडौंमा अर्को विहे गरेर बसेकाले श्रीमानले सम्पर्क नगरेको हो । श्रीमान् विदेश गएको ऋण पनि उनको काँधमा छ । दिनका दिन व्याज बढ्दै छ ।
अर्काेतिर दुईवटा छोराहरूको पढाइ खर्च पनि समस्या बनेको छ उनका लागि । उनी गाउँमै सिलाइ कटाइको काम गरेर बस्दै आएकी भए पनि त्यसबाट ऋण र छोराहरूको पढाइ खर्च जुटाउन मुस्किल भएपछि उनी साथीहरूको सम्पर्कमा आएर यौन व्यावसायी बन्न बाध्य छन् । उनका छोराहरू गाउँमै पढ्दै छन् । छोराहरूको मासिक ११ हजार रुपैयाँ होस्टेल र स्कुल खर्च उनी यौनकर्मी बनेर नै पठाउने गरेकी छन् ।
यति मात्र होइन, केही वचत गर्नुपर्छ भनेर बैंकमा रकम पनि जम्मा गर्दै आएकी छन् उनले । अलिक लगानी जुटाएर गाउँमै फर्किएर आफ्नो परिचय फेर्न चाहन्छिन् ।
यौन व्यवसायी बन्नु उनको रहर नभए पनि उनी अहिले पैसा कमाउनकै लागि ग्राहक खोज्दै हिँड्छिन् । उनी यौनकर्मी बनेपछि धेरै पटक हिंसामा पनि परेकी छन् ।
रेमा पनि यौन पेसाबाट सन्तुष्ट छैनन् । उनकी एउटी छोरी छन् । श्रीमानसँगको सम्बन्ध राम्रो नभएपछि उनी माइत फर्किइन् । माइत फर्किएको निहुँमा उनका श्रीमान्ले अर्कोसँग विहे गरे । उनले कानुनी उपचार खोजिनन् । कानुनी उपचार खोजेर पनि माया पाउने होइन, खर्च मात्र हुने हो भनेर उनले छोरीको भविष्य बनाउन आफैँले आँट गरिन् । तर उनले सोचेको जस्तो सुविधा नपाएपछि खाँदै गरेको सानो जागिर छाडेर अहिले यौनकर्मी बन्न बाध्य छन् ।
उनले यस व्यवसायबाट राम्रो कमाइ भइरहेकाले सीमित समयपछि केही बचत गरेर सम्मानित व्यवसाय गर्ने सोच रहेको बताइन् । अहिले भने पैसाका लागि भनेर फोन सम्पर्कका आधारमा कहिले राजधानीमा बस्छिन् भने कहिले राजधानीबाहिर जान्छिन् । उनलाई फोन गर्ने उनले चिनेका पनि हुँदैनन् । उनले एक–दुई जनालाई मात्र दिए पनि उनलाई फोन गर्ने सयौँ हुन्छन् । उनी फोन सम्पर्कमार्फत् विभिन्न स्थानमा जाँदा धेरै पटक हिंसामा पर्ने गरेको बताउँछिन् ।
गोरखाकी कायरा (परिवर्तित नाम) काठमाडौंमा स्नातक तहका पढ्दै छन् । उनलाई पढाइ सकिन्जेल यौनकर्मी बन्नु बाध्यता छ । उनको स्कुल फि, कोठा भाडा, सामान्य खर्चबाहेक घरबाट खर्च आउँदैन । उनको घरको आयस्रोत नभएकाले उनको अर्को विकल्प छैन ।
उनीहरूलाई ‘ग्राहक’ले मान्छेको रूपमा व्यवहार नगरेको गुनासो गर्छन् । भन्छन्, ‘हामी पनि मान्छे हौँ, हाम्रो रहर नभएर यो काम गर्नु बाध्यता हो भन्ने पटक्कै बुझिदिँदैनन् ।’
पटक पटक गाडी भाडा नभएर सहचालकको गाली खाएको, कक्षाका साथीहरूले खाजा खाँदा आफू भोकै बस्नुपरेको, कोठादेखि करिव ३ किलोमिटर टाढा क्याम्पससम्म पैदल हिँड्नुपरेको बाध्यताका कारण उनी पकेट खर्च जुटाउन यौनकर्मी बनिन् । उनी नियमित रूपमा ग्राहक खोज्न जान्नन्, तर जब पकेट खर्च समस्या हुन्छ, तब उनी पैसाका लागि ग्राहक खोजेर हिँड्न बाध्य हुने बताउँछिन् ।
कास्कीबाट विदेश जान भनेर एक लाख ४० हजार रुपैयाँ बोकेर आएकी हिका (परिवर्तित नाम)को रकम मेनपावर धाउँदा र भिसा कुर्दाकुर्दै सकियो । उनी जसरी पनि विदेश जान चाहन्छिन् । उनको खर्च निरन्तर भइरहे पनि आम्दानी नहुँदा चाहिने थप रकम जुटाउने केही आधार नभएपछि उनी अहिले विदेशका लागि निःशुल्क सीप र तालिम सिक्दै विदेश जान बाटो बन्द नहोस् भन्दै यौनकर्मी बनेकी छन् । उनी दिउँसो तालिममा व्यस्त हुन्छिन् भने राती ग्राहक खोज्दै हिँड्छिन् । उनको जसरी भए पनि विदेश जाने सपना रहेकाले विदेश उडिन्जेलका लागि भनेर यौनकर्मी बनेको उनले सुनाइन् ।
उनीहरूले भनेका कथाको आधारमा हेर्ने हो भने उनीहरूको बाध्यतामाथि बाध्यता देखिन्छ । विभिन्न समस्याका कारण जसरी हुन्छ पैसा कमाऊ भन्ने मानसिकताले यौनकर्मी बनेका छन् । उनीहरूले भनेअनुसार उनीहरू यौनकर्मी बनेपछि पनि सहज नभएर हिंसा खेप्नुपरेको छ ।
हिंसाको विषयमा यसो भन्छन् यौनकर्मी
यौन चाहनाबिना पैसा तिर्न कोही तयार हुँदैन । उनीहरू पैसा तिरेर सन्तुष्टि लिन यौनकर्मीमँग आउने गरेका छन् । तर सबैले हिंसा गर्ने होइन । धेरैजसो मादक पदार्थ सेवन गरेकाले उनीहरूको सन्तुष्टिको नाममा हिंसा गर्ने गरेका छन् । उनीहरूसँग विभिन्न आग्रह र विन्ती गर्दा पनि ‘तँलाई पैसा तिरिसकेको छु । तँलाई जेसुकै गरूँ’ भन्दै हिंसा गर्ने गर्छन् ।
एक जना भनेर कोठामा जाँदा धेरैलाई सन्तुष्टि दिनुपर्ने उनीहरूको गुनासो छ । कोहीकोही हिंस्रक हुने उनीहरूको अनुभव छ । दुखाउने नियतले योनीमा विभिन्न अपाच्य क्रियाकलाप गर्ने, यौन तथा संवेदनशीलता र यौनसँग जोडिएका बाहेकका सामग्री प्रयोग गर्ने, शरीरका विभिन्न भागमा टोक्ने, चिथोर्ने, सुरक्षाका अस्थायी साधन प्रयोग गर्न इन्कार गर्ने, अश्लील गाली गरेर होच्याउने गरेका तीता अनुभव उनीहरूसँग छ । लुकीछिपी बाध्यताले यौन पेसा अँगाल्न बाध्य भएको नबुझेर फोटो र भिडियो खिच्न खोज्ने गरेको पनि उनीहरू बताउँछन् । उनीहरूलाई ‘ग्राहक’ले मान्छेको रूपमा व्यवहार नगरेको गुनासो गर्छन् । भन्छन्, ‘हामी पनि मान्छे हौँ, हाम्रो रहर नभएर यो काम गर्नु बाध्यता हो भन्ने पटक्कै बुझिदिँदैनन् ।’
बेइज्जत हुने डरले प्रहरीमा जाँदैनन्
यौनकर्मीहरू विभिन्न शोषणमा पर्दा प्रहरीकहाँ जान नसकेको बताउँछन् । प्रहरीमा जाँदा सबैले थाहा पाउने भएकाले कुनै कानुनी उपचार कसैले नखोजेको उनीहरू बताउँछन् । आफैँ प्रहरी र प्रशासनसँग भाग्दै पेसामा लाग्नुपरेकाले कुनै कानुनी उपचार नखोजिएको उनीहरूले सुनाए ।
काठमाडौंमा यौन पेसाबाट पेसाकर्मीकै भाषामा भन्ने हो भने जापान जानुभन्दा बढी आम्दानी हुन्छ । तर एकातिर प्रहरीको त्रास, अर्काेतिर ग्राहक कस्ता पर्ने हुन् भने चिन्ता छ । ‘ग्राहक सोझो र इमान्दार भए त सहज हुने हो, नत्र पैसा कमाउनुभन्दा बढी पटक पटक हिंसा सहेर आउनुपर्छ’, उनीहरू पीडा पोख्छन् ।
रमाइलो कुरा त के भने पछिल्लो समय यौनकर्मीको इलाकाअनुसारका समुह छन् । एकले अर्काको इलाकामा ग्राहक खोज्न जानै मुस्किल छ । एक इलाकाबाट ग्राहक खोज्दै अर्काे इलाकामा जाँदा कैयौँ पटक कुटाइ खानुपरेको यौनकर्मीहरू बताउँछन् ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५