पोखरा : अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक प्रयासले यहाँको १ विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ ।
४ वर्षअघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य भन्छन् समयको माग अनुरुप नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि विद्यार्थी सङ्ख्या बढेको छ, यसले शिक्षाको गुणस्तर पनि बढेको छ
नेपाली माध्यममा पढाइ हुँदा विसं २०७१ मा ३५० विद्यार्थी पढ्थे । त्यसले विद्यार्थीको आकर्षण बढ्न नसकेपछि अङ्ग्रेजीमा समेत पढाउन थालिएको हो । त्यसपछि वर्षेनी विद्यार्थी सङ्ख्या बढ्दै २०७२ मा ५२१, २०७३ मा ६९१, २०७४ मा ९४० हुँदै २०७५ मा एक हजार १३२ विद्यार्थी पुगेको हो । अघिल्लो वर्ष एसइई परीक्षामा १२ विद्यार्थीले ‘ए’ प्लस, २३ ले ‘ए’, २४ ले ‘बी प्लस’ र ‘बी’ ल्याउने ११ थिए । उक्त परीक्षामा विद्यार्थीले अधिकतम तीन दशमलव नौ जिपिएसम्म ल्याउन सफल भएका थिए । यस वर्ष एसइईमा ७९ विद्यार्थी सहभागी हुने विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले बताउनुभयो ।
एसइईमा विद्यार्थीले राम्रो नतिजा ल्याउन् भन्ने अभिप्रायले गत मङ्सिरदेखि विद्यलायमा आवासीय पठनपाठन थालिएको छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष गणेशप्रसाद ढकाल अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढ्दै गएको बताउछन् ।
विद्यालयका साथै आफ्ना बालबालिकाको हाजिरी, गृहकार्य लगायतका विषयमा अभिभावकले दैनिक थाहा पाउने गरी अघिल्लो वर्षबाट विद्यालयले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । सरस्टीका नामक उक्त एप सञ्चालन सँगै विदेशमा सेवा, पेशा व्यवसायका क्रममा पुगेका अभिभावकले आफ्ना केटाकेटी विद्यालय आए नआएको, गृहकार्य गरे नगरेकोबारे जानकारी लिने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५