भोजपुर : अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । विगतमा एक लाख दस हजार रुपैयाँ प्रतिमनसम्म मूल्य पाएका कृषक यसवर्ष मूल्य घटेर २२ हजारमा झरेपछि निराश बन्न पुगेका हुन् ।
अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चकोसमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् । ‘केही वर्षअघि सम्म एक लाख १० हजारसम्म मूल्य लिए, त्यसपछि मनको ३० देखि ४० हजारमा झ¥यो त्यति नै मूल्य हुँदा त साँवासम्म उठ्थ्यो’, भोजपुर नगरपालिका वडा नम्बर ९ का कृषक बखतबहादुर श्रेष्ठ गुनासो गर्दै भन्छन् ।
‘राम्रो मूल्य प्राप्त गर्ने आशमा किसानले गतवर्षको अलैँची समेत गोदाममा राखेका छन्, जसका कारण थप समस्या भयो’, उनी थप्छन् । रोगकीरा नियन्त्रण, औषधि, सिँचाइ, गोडमेल लगायत कार्यमा ठूलो धनराशि खर्च हुँदा अलैँची उत्पादन समेत महँगो भएको कृषक कृष्ण प्रधान बताउँछन् ।
‘अर्काको जग्गा भाडामा लिएर अलैँची खेती गर्ने कृषक पनि छन्, त्यस्ता कृषकले जग्गाको भाडा पनि तिर्नुपर्यो, मूल्य पनि घटदै गएपछि के गर्ने ?’, कृषक प्रधान गुनासो गर्छन् । यहाँका अधिकांश किसानले रामसाई, डम्बरसाई र गोलसाई प्रजातिको अलैँची खेती गरेका छन् ।
अलैँची खेतीबाट नाफा लिनै नसक्ने अवस्था आएपछि कृषकमा चरम निराशा छाएको अलैँची व्यवसायी महासंघ भोजपुरका अध्यक्ष नवीन प्रधान बताउँछन् । अध्यक्ष प्रधानका अनुसार जिल्लाका कृषकहरूमा छाएको निराशाले व्यवसायीमा समेत प्रभाव पारेको छ । भारत, भुटान लगायतका मुलुकमा अलैँची उत्पादनमा वृद्धि भएसँगै नेपालको अलैँचीले उचित मूल्य पाउन छाडेको अध्यक्ष प्रधानको भनाइ छ ।
‘मूल्यका कारण अलैँची खेती र व्यवसायमा गम्भीर समस्या आउने लक्षण देखा पर्दै छ’, प्रधानले भने, ‘मूल्य पनि कम छ, अलैँचीको निकासी कर पनि नेपालको सन्र्दभमा बढी छ ।’ नेपालबाट निकासी भएको ९५ प्रतिशत अलैँची भारतीय बजारमा हुँदै खाडी, युरोप तथा अन्य मुलुकसम्म पुग्ने गरेको छ । भारतले नेपालमा उत्पादन भएको अलैँची गुणस्तरहीन भनेपछि यहाँ उत्पादित अलैँचीले मूल्य गुमाएको छ ।
पूर्वी पहाडको अलैँची झापाको बिर्तामोड हुँदै अन्तर्राष्ट्रिय बजारसम्म जाने गरेको छ । अलैँची व्यवसायी महासंघको केन्द्रीय कार्यालयसमेत बिर्तामोडमै छ । अधिकांश जिल्लाको अलैँची बिर्तामोडमा संकलन भएर विदेश निर्यात हुने गर्छ । पहाडी जिल्लामा उत्पादन भएको अलैँची बिर्तामोडको बजारसम्म पुग्न नपाउँदै गुणस्तरमा दोष देखाएर कम मूल्य निर्धारण गर्ने गरिएको कृषकको भनाइ छ । नेपालको अलैँचीको गुणस्तर तथा अन्तर्राष्ट्रिय मूल्यबारे स्थानीय व्यवसायी र कृषक जानकार नहुँदा समस्या भएको कृषक बाबुराम राई बताउँछन् ।
मूल्यमा गिरावट आएका कारण नयाँ कृषकहरू पनि अलैँची खेती गर्ने कि नगर्ने भन्ने मनस्थितिमा पुगेको अलैँची व्यवसायी महासंघ भोजपुरका अध्यक्ष नवीन प्रधान बताउँछन् । मूल्यमा कमी आएपछि खेती गरिरहेका कृषकहरूलाई पनि भट्टी निर्माण, माटो परीक्षण, नयाँ प्रविधि अपनाउन समस्या भएको छ ।
मूल्यमा गिरावट आइरहेको अवस्थामा भोजपुर जिल्लामा अलैँची जोन कार्यक्रम सुरु भएको छ । अलैँची खेतीमा लागेका कृषकका लागि अनुदानसँगै प्रविधिक सहयोग प्रदान गर्ने गरी कार्यक्रम सुरु गरिएको हो ।
भोजपुर जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म अलैँची जोन कार्यक्रममा आबद्ध भएको अलैँची जोन कार्यालयले जनाएको छ । विगतमा अलैँची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर जिल्लामा कार्यक्रम सञ्चालन भएको हो ।
अलैँची जोन कार्यालय भोजपुरका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये छ स्थानीय तहका ३० वडामा अलैँची जोन परियोजना सञ्चालनमा छ । परियोजना अन्तर्गत अलैँचीको बिरुवासँगै प्राविधिक सहयोग पाएपछि कृषक उत्साहित बनेका हुन् । परियोजनाले कृषकको घरघरमै पुगेर उनीहरूका समस्या तथा माग गरिएका आयोजनाको अवलोकन गरिरहेको छ । कार्यक्रम सञ्चालन भएपछि अझै अलैँचीको उत्पादनमा वृद्धि हुने अलैँची जोनका निमित्त प्रमुख खिरप्रसाद राईको भनाइ छ ।
भोजपुरमा करिब छ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । कार्यक्रम लागु भएपछि अझै एक हजार हेक्टर क्षेत्रफलमा खेती बिस्तार गर्न सकिने अलैँची जोन कार्यालयले जनाएको छ । कार्यक्रम अन्तर्गत जिल्लामा करिव ४९ लाख रुपैयाँ बराबरको कृषक लक्षित कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
भोजपुरका तत्कालीन दोभाने, कुदाककाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङथर्पु तिम्मा, हेलौँछा, गुप्तेश्वर, भैसीपंखा लगायतका अधिकांश गाविसमा अलैँची खेती हुने गरेको छ । सेपिलो तथा भिरालो जग्गामा पनि अलैँचीको खेती गर्न सकिने भएकाले जिल्लामा अलैँची खेती सुरु भएको कृषक धर्मराज राईले जनाए ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५