घरमा सीमित महिलाहरूको सामूहिक तथा सामाजिक र राजनीतिक क्षेत्रमा जस्तै अन्य क्षेत्रमा पनि सक्रियता बढिरहेको छ । पछिल्लो समय शिखर आरोहणमा पनि महिलाको उपस्थिति बढ्न थालेको छ ।
पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाका अनुसार वर्सेनि सगरमाथालगायतका शिखर आरोहणमा महिलाको उपस्थिति बढिरहेको छ । गत वर्ष मात्र १५ जना नेपाली महिलाले सगरमाथा आरोहणका लागि अनुमति लिएकामा १३ जनाले शिखर चुमेका छन् भने अरूको सहयोगीका रूपमा पाँच जना महिलाले थप आरोहण गरेका छन् ।
सगरमाथा आरोहणको इतिहास लामो छैन । महिला आरोहणको इतिहास त सन् १९७५ मे १६ बाट सुरु भएको हो । जापानकी जुनको तावेईले पहिलो पटक सगरमाथा शिखर चुमेकी हुन् । उनले शिखर चुमेको १८ वर्षपछि अर्थात् सन् १९९३ अप्रिल २३ मा नेपालकी पहिलो महिला आरोहीको रूपमा पासाङ ल्हामु शेर्पाले शिखर चुमेकी हुन् ।
यस वर्ष अनुमति लिने क्रम सुरु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष पनि यो संख्या बढ्ने अनुमान गरिएको छ । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने महिलाको उपस्थिति उल्लेख्य रहेको छ । गत वर्षको स्प्रिङ सिजनमा ५६० जनाले आरोहण गरेका पर्यटन विभागको तथ्याङ्कमा छ । तथ्याङ्कको करिब १० प्रतिशत अथवा ५२ जनाले महिलाको संख्या ओगटेको छ ।
हिमाल आरोहण गर्नु एक साहसिक कार्य हो । लेकको चिसोमा महिलाका लागि चुनौती र बाध्यता हुन्छ । तर आफ्नो परिधिको बाध्यताभन्दा बढी साहसले काम गर्ने गरेको आरोहीहरू बताउँछन् । यस वर्ष पनि आरोहण सिजन सुरु हुनुपूर्व नै सगरमाथा आरोहण गर्न गएका श्रीमान् हिमालमै बितेपछि श्रीमान्को अन्तिम पाइला स्पर्श गर्न जाने भन्दै दुई एकल महिलाको आरोहण यात्राले चर्चा पाइसकेको छ ।
एक महिलालाई आत्मनिर्भर बनाउने अभियानका साथ सगरमाथामा पति गुमाएका फुर्दिकी शेर्पा र निमा शेर्पा सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । श्रीमान्ले ज्यान गुमाएको ठाउँलाई हेरेर शोकलाई शक्तिमा बदल्ने तयारी रहेको उनीहरूले जनाएका छन् । उनीहरू जस्तै यस वर्ष पनि विदेशी तथा नेपाली महिला आरोहीले अनुमति लिने काम भइरहेको पर्यटन विभागले जनाएको छ ।
गत स्प्रिङ सिजनमा अष्ट्रेलिया, ब्राजिल, चिली, जर्मनी, हँगेरी, जापान, नर्वे र स्विट्जरल्याण्का एक एक जना महिलाले सगरमाथाको शिखर चुमेका छन् । न्युजिल्याण्ड र पोल्याण्डका दुई दुई जनाले शिखर चुमेका छन् । युकेका तीन जनाले शिखर चुम्दा अमेरिका र चीनका छ/छ जना महिलाले सगरमाथाको शिखर चुमे ।
त्यस्तै, भारतका सात जना र नेपालका आरोही १३ र सहयोगी पाँच गरी १८ जनाले सगरमाथाको शिखर चुमेको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि नेपालका आरोहीले ७५ हजार रुपैयाँ अनुमति शुल्क तिर्नुपर्छ भने अन्य देशका नागरिकले ११ हजार डलर तिर्नुपर्ने व्यवस्था छ ।
पर्यटन विभागको तथ्यांकअनुसार हालसम्म पाँच हजार ८६४ जनाले सगरमाथा आरोहण गरेका छन् । तर, लैंगिक आधारमा कतिकतिले सगरमाथा आरोहण गरेका छन् भन्ने तथ्यांक भने विभागसँगसमेत नरहेको विभागले जानकारी दियो । हामीले महिला, पुरुष र अन्य भनेर सुरुदेखि नै तथ्याङ्क नराखेका कारण लैंगिक हिसाबले डाटा राखिएन, समग्रमा मात्र राखियो , विभागका सूचना अधिकारी थापाले भने ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५